Follow Us on Facebook Follow Us on Facebook
 
  • लोकतान्त्रिक प्रणाली, घरदैलोमा आफ्नै सरकार, सामर्थ्य र पहिचान सङ्घीयताका आधार ।
  • मानव अधिकारको सम्मान गर्नेलाई मतदान गरौं, न्यायपूर्ण समाजको निर्माणमा योगदान गरौं ।
  • तपाईको एक मतले राष्ट्रनिर्माणमा महत्वपूर्ण योगदान दिन सक्छ, त्यसैले सोच विचार गरेर मात्र मतदान गर्नुहोस् ।
  • सात वटा कोठामा सात छाप, दुई वटा चिन्ह भएपनि एक कोठामा एकै छाप ।
  • हत्या, हिंसा, अराजकता र भ्रष्टाचारको अन्त्य ! तीव्र आर्थिक वृद्धि र समृद्धि अबको गन्तव्य !!
   
समाचार

प्रधानमन्त्रीको चुनावी सभामा नेता, कार्यकर्ताहरू चुनाव चिन्ह अङ्कित पहिरनमा

सप्तरी । ०७४ भदौ २७ गते

प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहित प्रमुख नेताहरूले राजविराजमा भदौ २७ गते सम्बोधन गरेको चुनावी सभामा काङ्ग्रेसका नेता, कार्यकर्ताहरू चुनाव चिन्ह अङ्कित भेष्ट, टोपी, गम्छा, झोलासहित सहभागी भएका छन् । कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत चुनाव चिन्ह अङ्कित गम्छामा सहभागी भएका हुन् ।

चुनावी सभामा सहभागी हुन विभिन्न ठाउँबाट काङ्ग्रेसका कार्यकर्ताहरू चुनाव चिन्हको झण्डासहित मोटरसाइकल र्‍याली गर्दै पुगेका थिए । प्रम देउवा सरकारी गाडीको लस्करसहित कार्यक्रममा पुगेका थिए ।

प्रधानमन्त्री देउवा, युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, सांसदहरू बिमलेन्द्र निधि, सीता यादव, सशाङ्क कोइराला, रमेश लेखक, सुरेन्द्र यादव, सकलदेव सुतिहार, रञ्जित कर्ण लगायतले आफ्ना उम्मेदवारको पक्षमा तथा अन्य दलको विपक्षमा खुलेर मत मागे ।

प्रधानमन्त्री देउवाले काङ्ग्रेसका उम्मेदवारलाई जिताए उम्मेदवारले घोषणा गरेअनुरूप राजविराज र सप्तरीका सम्पूर्ण मागहरू पूरा गर्ने बताउँदै उम्मेदवारले घोषणा गरेको कभर्ड हल, रङ्गशाला, हुलाकी सडक, सिटी हल सरकारले निर्माण गर्ने विश्वास दिलाए ।

उनले भारतसँगको सहकार्यमा कोशी उच्च बाँध निर्माण गरेर मधेसलाई बाढी र डुबानवाट जोगाउने तथा सुनकोशी डार्इभर्सन बनाएर सिंचाई सुविधा उपलब्ध गराउने योजना सुनाए ।

उक्त कार्यक्रमका समयमा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको राजविराजको मुख्य चोकहरूबाट कार्यक्रमस्थलसम्म जाने बाटोहरूबाट सवारी साधान आवागमनमा रोक लगाइएको थियो ।

मनोहरकुमार पोखरेल